शेयर बजारमा बुझ्नु पर्ने ५० वटा आधारभूत कुराहरु – Part 2

Share Gyan

2.1 AGM  – Annual General Meeting 

एक आर्थिक वर्षभित्र कम्पनीले गरेको काम कारबाही, उपलब्धि र समस्य, भावी योजना, बार्षिक हिसाबकिताब पारित, शेयरधनिहरुलाई दिने लाभांशको बारेमा छलफल , र अन्य महत्वपूर्ण बिषयमा छलफल गर्न वर्षको एक पटक बसिने सभा नै बार्षिक साधारण सभा हो। आर्थिक वर्ष सकिएको (असार मसान्त) ६ महिनाभित्र बार्षिक साधारण सभा बसिसक्नु पर्ने हुन्छ। 

2.2 Credit Rating/Grading

कम्पनीले लिएको ऋण तिर्न सक्ने क्षमता र उसको विस्वाशनीयताको मुल्यांकनलाई क्रेडिट रेटिङ भनिन्छ। नेपालको सन्दर्भमा ICRA Nepal  र CARE Ratings Nepal ले क्रेडिट रेटिङ गर्दै आइरहेका छन  । कम्पनीले कम्तिमा ३ करोड रुपैयाँ वा त्योभन्दा बढीको धितोपत्र जारी गर्नुभन्दा अगाडी क्रेडिट रेटिङ् गर्नुपर्ने हुन्छ जसले गर्दा कम्पनी वा धितोपत्रको शेयर छनोट गर्न लगानीकर्ताहरुलाई सजिलो हुन्छ। त्यै भएर हामीले  आईपीओ जारी गर्ने  प्रत्येक कम्पनीको रेटिङ हेर्नुपर्ने हुन्छ। 

1.3 EPS – Earning Per Share

कर तिरिसके पछिको नाफालाई कुल शेयर संख्याले भाग गरेर आउने प्रतिफललाई नै प्रतिशेयर आम्दानी अर्थात ईपिएस (अर्निङ पर सेयर) भनिन्छ। ईपिएस कम्पनीको नाफा विश्लेषण गर्ने एक महत्वपूर्ण औजार हो। प्रतिशेयर आम्दानी जति धेरै भयो त्यति राम्रो मानिन्छ। 

2.4 Profit Margin

खुद नाफालाई कुल आम्दानीले भाग गर्दा आउने अनुपातलाई प्रोफिट मार्जिन अर्थात कुल आम्दानीमा नाफाको अनुपात भनिन्छ। यो अनुपातले कम्पनी व्यवस्थापनको कार्यसम्पादनको मुल्यांकन गर्दछ ।  अनुपात जति धेरै भयो कम्पनीले बिक्रि वा आम्दानीमा धेरै नाफाको मार्जिन राखेर बिक्रि गर्न तथा खर्च नियन्त्रण गर्न सफल भएको भन्ने बुझिन्छ। 

2.5 PE Ratio – Price Earning Ratio

शेयरको वास्तविक मूल्य मापन गर्ने मूल्य र आम्दानीबीचको अनुपातलाई PE Ratio अर्थात मूल्य आम्दानि अनुपात भनिन्छ। कुनै पनि कम्पनीको तत्कालको शेयर मुल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गरेपछि मुल्य अम्दानी अनुपात आउँछ । यसको मापन गुणामा हुन्छ। 

 

2.6 Net Worth

कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्यअथवा किताबी मूल्य) हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रति सेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ । दोस्रो बजारमा कारोबार गर्दा कम्पनीको सेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना गरेर खरिद बिक्रीको निर्णय गर्नु राम्रो मानिन्छ ।

2.7 Support & Resistance

शेयर बजार घट्दै गए जुन बिन्दुबाट बढ्न सुरु गर्छ, त्यसपछिका दिन वा कारोबार मूल्यका लागि उक्त बिन्दुलाई सपोर्ट भनिन्छ भने बजार जुन बिन्दुबाट घट्न थाल्छ त्यसपछिका कारोबार मूल्यका लागि उक्त बिन्दु रजिस्टेन्स भनिन्छ।

सजिलो गरि बुझ्नुपर्दा यसअघिका उच्चतम बिन्दु रेजिस्टेन्स बन्छ बने न्युनतम बिन्दु सपोर्ट बन्छ ।  सपोर्ट र रेजिस्टेन्स Technical Analysis को एक तरिका हो। 

2.8 Circuit Breaker

शेयरको मूल्यमा हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न अपनाइएको एउटा तरिका नै सर्किट ब्रेकर हो। नेप्सेले सर्किट ब्रेकर २०६३ असोज १० गतेबाट सुरु गरेको हो। नियम अनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ४  प्रतिशतले बढे वा घटेमा 20 मिनेट, पुन सुचारु भएपछि फेरी 5 प्रतिशतले बढे वा घटेमा ४० मिनेट र फेरी खुलेको समय पछि ६ प्रतिशतले परिवर्तन भएमा त्यो दिनको पुरै बजार बन्द गरिन्छ। 

2.9 Book Close Date

कुन मितिसम्म शेयर किन्नेले कम्पनीले घोषणा गरेको लाभांश तथा राइट शेयर प्राप्त गर्ने भन्ने छुट्याइएको मितिलाई बुक क्लोज मिति अर्थात बुक क्लोज डेट भनिन्छ। कम्पनीले वितरण गर्ने लाभ लिनको लागि बुक क्लोज डेट भन्दा अघिल्लो दिनसम्म शेयर किनिसक्नु पर्दछ।  बुक क्लोज मिति कम्पनीको बार्षिक साधारण सभा बस्ने सूचनामा उल्लेख गरिएको हुन्छ।

2.10 Balance Sheet

उटा निश्चित विन्दु वा समयमा कम्पनीको सम्पति (Assets), दायित्व (Liabilities) र स्वपुँजी (Equity) को अवस्था समेटेर तयार पारिएको विवरणलाई Balance Sheet भनिछ। 

कम्पनीले त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा प्रकाशन गरेको Balence Sheet हेरेर हामीले उक्त कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्न सकिन्छ। 

2.11 Closeout

बेचेको शेयरको तोकिएको समयमा किन्ने व्यक्तिलाई ट्रान्सफर गर्न नसकेमा वा आफुसंग नभएको शेयर बेचेमा क्लोज आउट लाग्ने गर्दछ। चाँडो नाफा कमाउन डिम्याट खातामा नआई बेच्दा, बैंकमा रोक्का भएको शेयर बेच्दा, आफ्नो डिम्याट खाता नहेरी शेयर सेलिङ अर्डरमा राख्दा,  कम्पनीको नाम उल्टो राख्दा क्लोज आउटमा परिन्छ ।

यस्तो अवस्थामा बिक्रेताले कुल कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नु पर्ने हुन्छ।  उक्त रकमको २५ प्रतिशत सरकारले राजस्वका रुपमा प्राप्त गर्छ भने बाँकी ७५ प्रतिशत सेयर खरिद गर्नेले व्यक्तिले प्राप्त गर्दछ। 

2.12 Insider Trading

कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखा परीक्षक लगायतको संलग्नतामा सार्वजनिक नहुनुपर्ने सूचना सर्वजनिक भै कारोबार हुने धितोपत्रलाई Insider Trading अर्थात भित्रि कारोबार भनिन्छ। 

भित्रि कारोबारमा यस्ता शेयर मूल्यमा असर गर्न सक्ने सूचना सार्वजनिक हुनु अगावै सो कम्पनीको शेयर किनेबेच गरेर फाइदा लिन्छन। 

2.13 Cornering or Warehousing

बजारमा आएको सम्पूर्ण शेयर एउटा व्यक्ति वा समूहले किन्छन र शेयर आफूतिर केन्द्रित गर्छन।  यसो हुँदा बजारमा आपूर्ति कम हुन्छ र मुल्य बढ्दै जान्छ।  मूल्य बढ्दै जाँदा यस्ता समुहले आफुसंग रहेको सानो सानो शेयर बेच्दै जान्छन र मुल्य उच्चतम बिन्दुमा पुगेपछि सबै शेयर बेचेर फाइदा लिन्छन। यसलाई शेयर कर्नरिङ्ग अथवा वेरहाउजिङ्ग भनिन्छ। 

2.14  Ramping

बजारमा हुने अन्तिम समयभन्दा केहि अगाडि बनावटी रुपमा शेयरको मूल्य छिटो छिटो बढेको देखाई लगानीकर्तालाई आकर्षित गरि फाइदा लिनुलाई र्याम्पिङ भनिन्छ।  यसरि मुल्य बढ्दा माग अत्यधिक रहेछ भन्ने संकेत गर्दछ र भोलिको कारोबारमा माग सिर्जना गर्ने काम गर्दछ। 

2.15 Organized Runs

सक्रिय आपराधिक गिरोहले लगानीकर्तालाई कम्पनीको शेयर किन्न प्रेरित गर्ने उदेश्यले सो कम्पनीबारे अनावश्यक हल्ला फैलाएर शेयर मूल्य प्रभावित गर्छन। यसबाट तुरुन्तै बिक्रि हुने वा डरका कारण सस्तोमा शेयर खरिद गर्न सकिने हुन्छ जसबाट यो छाल चाल्नेले मुनाफा कमाउँछन। 

2.16 WashSale

वाससेलरले आफुसंग रहेको शेयर आफ्नो परिवार वा नातेदारको नाममा बिक्रि गर्छ।  यो कारोबार आफुसंग भएको शेयर आफैलाई बिक्रि गर्नु बराबर हो।  यसरी किनबेच गर्नुको मुख्य उदेश्य शेयर कारोबार भएको अर्थात मुल्य गडबड भएको देखाउनु  र कम मूल्यमा आफ्नो शेयर आफैलाई बिक्री गरि बजार मूल्य घटेको देखाउने र सस्तो मूल्यमा शेयर किन्नु हो। 

2.17 Matching

एउटै कम्पनीको खरिद वा बिक्रि आदेश एउटै ब्रोकरलाई प्राप्त छ भने आफै क्रेता तथा विक्रेता भै दुवै आदेशलाई मिलाई एकतर्फ़को मुल्य कम वा बढी गराई गर्ने कारोबारलाई नै म्याचिङ भनिन्छ।  यो कारोबार क्रेता नजिकको भए मुल्य घटाएर म्याचिङ गर्ने तथा विक्रेता नजिकको भए मुल्य बढाएर म्याचिङ गर्ने गरिन्छ। 

2.18 Pooling

लगानीकर्ताहरु आफु आफु समुह बनाई शेयर मुल्यमा परिवर्तन गराएर फाइदा लिने प्रक्रियालाई पुलिङ भनिन्छ।  यसमा संगठनात्मक प्रक्रियाबाट आफु आफै बीच शेयर किनबेच गरेर बजारमा कुनै पनि कम्पनीको शेयर धेरै कारोबार भएको देखाएर मुल्य बढाई अन्य लगानीकर्ताहरुलाई आकर्षित गरेर नाफा कमाउँछन  ।

2.19 Front Running

लगानीकर्ताको किनबेच आदेशको कारण बजार मुल्य घट्ने वा बढ्ने भएमा उक्त आदेश राख्नु अगाडि नै ब्रोकरले आफ्नो वा आफ्नो नातेदारको नाममा खरिदविक्री आदेश राख्ने र नाफा लिईसकेपछि मात्र ग्राहकको आदेश राख्ने कार्यलाई Front Running भनिन्छ।  अहिले अनलाइन प्रणाली बढीजसो किनबेच हुने भएकोले यस्तो हुने सम्भावना कम छ। 

2.20 Book Building

कम्पनीहरुले आइपिओ निष्कासनका लागि प्रतिशेयर मूल्य तोक्न दुईवटा तरिका अपनाउन सक्छन। एउटा भनेको अंकित मूल्य १०० राखेर वा प्रति सेयर नेटवर्थको दुई गुणासम्म प्रिमियम थप गरी मूल्य निर्धारण गर्न सक्छन । अर्को भनेको कम्पनीले नै प्राइस रेञ्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गर्ने र जुन मुल्य अन्तमा निर्धारण गरिन्छ त्यसलाई नै प्रतिशेयर अन्तिम मूल्य मानेर आइपिओ जारी गर्ने। यसरि योग्य संस्थाहरुद्वारा बिडिङ गरेर तोकिएको अन्तिम मुल्यलाई कट अफ प्राइस भनिन्छ।  

बुक बिल्डिङ्ग बिधिबाट आइपिओ जारी गर्नका लागि कम्पनी ३ वर्षदेखि लगातार नाफामा गएको हुनुपर्छ ।साधारणतय पुरानो तथा बजारमा पहिले देखि नै  स्थापित कम्पनीलेहरुले बुक बिल्डिङबाट आइपिओ जारि गर्दछन। बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने पछिल्लो उदाहरणको रुपमा हामीले सर्बोत्तम सिमेन्टलाई लिन सक्दछौं।

2.21 OTC Market – Over the Counter Market

नेप्सेमा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनीहरुको शेयर कारोबार हुने बजारलाई Over the Counter Market Market अर्थात ओटीसी मार्केट भनिन्छ। धितोपत्र बजारके सूचीकरण खारेजी गरेको, धितोपत्र बजारको सूचीकरणका लागि आवश्यक सर्तहरु पुरा हर्न नसकेका र सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक कम्पनी तथा सरकारी संस्थाले सार्वजनिक निष्काशन गरेका धितोपत्रहरुको कारोबार ओटीसी मार्केटमा हुन्छ। 

2.22 Rally

समग्र शेयर बजार वा कम्पनीको मूल्यमा देखिएको निरन्तरको बृद्दिलाई र्याली भनिन्छ।  यस्तो बजारमा खरिदकर्ताको चाप अत्याधिक हुन्छ।  यो अवस्था लामो समयसम्म देखियो भने बुल मार्केट भनिन्छ।  

2.23 Market Correction

शेयर बजार सधैँ बढ्छ भन्ने हुदैन। एउट निश्चित विन्दुमा पुगेपछि बजार घट्नुलाई करेक्सन भनिन्छ।  बढ्दो बजारमा सामन्यतय १० प्रतिशतसम्मको गिवावटलाई करेक्सन भनिन्छ र यो छोटो समयको लागि हुन्छ तर यदि मार्केट करेक्सन लामो समयसम्म चल्यो भने त्यसलाई बियारिश मार्केट भनिन्छ। मार्केट करेक्सन हुनु ट्रेडर्सहरुको लागि किन्ने अवसर हो। 

2.24 Stop Loss

शेयरको मूल्य घट्दै जाँदा किनेको मूल्य भन्दा कति तल गएमा शेयर बिक्रि गर्ने भन्ने निर्णय गरि बिक्रि गर्न दिएको आदेशलाई स्टप लस भनिन्छ। उदाहरणको लागि कुनै कम्पनीको शेयर ५०० मा किनेको छ र मुल्य घट्दै छ।  यदि १०% भन्दा बढी नोक्सान नव्यहोर्ने हो भने ४५० पुग्ने बितिकै  बिक्रिको लागि ब्रोकरलाई दिने आदेश दिईन्छ वा सिस्टममा राखिन्छ। 

2.25 Profit Booking

शेयर किनेपछि मुल्य बढेमा कति नाफा आएपछि बेच्ने भन्ने निर्णय गरेर ब्रोकरलाई बेच्ने आदेश दिनुलाई Take Profit Order अर्थात नाफा लिने आदेश भनिन्छ। 

एउटा शेयरको मुल्य एउटा बिन्दुमा पुगेपछि घट्न थाल्दछ यस्तो अवस्थामा अल्पकालीन लगानीकर्ताले प्रोफिट बुक गर्ने गर्दछन।  

2.26 Warrant

कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण शेयर खरिद गर्न सकिने गरि जारी गरिएको धितोपत्रलाई वारेन्ट भनिन्छ।  अर्को शब्दमा भन्नु पर्दा भविष्यमा कम्पनीको साधारण शेयर खरिद गर्न लगानीकर्तालाई दिईएको अधिकार नै वारेन्ट हो। 

2.27 ROA – Return on Assets

खुद नाफालाई कुल सम्पतिले भाग गर्दा आउने अनुपातलाई Return on Assets – ROA अर्थात कुल सम्पतिमा प्रतिफल भनिन्छ। नाफा आर्जन गर्दा कम्पनीले सम्पतिको कतिको प्रभावकारी उपयोग गर्न सक्यो भन्ने मुल्यांकन गर्न यो अनुपात गणना गरिन्छ।  यो अनुपात जति धेरै भयो त्यति रामो मानिन्छ। 

2.28 ROE – Return on Equity

खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आउने परिणामलाई इक्विटी प्रतिफल अथवा (Return on Equity – ROE) भनिन्छ। इक्विटी भनेको शेयरधनिहरु संग सम्बन्धित पुँजी जस्तै शेयर, जगेडा तथा कोषहरु, शेयर प्रिमियम हरुको योग हो। Preference Share शेयर जारी गरेको कम्पनीले भने खुद नाफबाट Preference Share लाई वितरण गरिने लाभांश घटाई बाँकी रहेको नाफालाई कुल इक्विटीले भाग गरेर ROE निकालिन्छ।  

ROE बाट कम्पनीको कार्यसम्पादन तथा शेयरधनिले कम्पनीमा गरेको लगानीमा प्राप्त प्रतिफलको मुल्यांकन गर्न सकिन्छ। यो सम्बन्धित उद्योगको औसत (Industry Avarage) भन्दा बढि भएमा कम्पनीको कार्य सम्पादन औसत भन्दा राम्रो भएको मानिन्छ। ROE जति धेरै भयो त्यति राम्रो वा कम्तिमा मुद्रास्फिर्ती दर भन्दा बढी वा बढ्दो हुनुपर्छ। 

2.29 CD Ratio – Credit Deposit Ratio

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप (Deposit) ले कुल कर्जा (Credit) लाई भाग गर्दा आउने अनुपातलाई कर्जा निक्षेप अनुपात Credi Deposit Ratio भनिन्छ। बैंकले लिएको कुल निक्षेपको कति प्रतिशत बराबर रकम कर्जा प्रदान गरिएको छ भन्ने यो अनुपातले देखाउछ। बैंकको CD Ratio ८०% भन्दा बढी भयो भने जोखिम रहेको संकेत गर्दछ। फेरी यो अनुपात धेरै कम भयो भने पनि नाफाको बृद्दी कम हुन जान्छ। 

2.30 PB Ratio – Price to Book Value

सेयरको बजार मूल्य र किताबी मूल्य बीचको अनुपात प्राइस टु बुक भ्यालु (पिबी) रेसियो हो । पिबी रेसियो ५ सम्म भएको सेयरलाई सुरक्षित मानिन्छ । अर्थात कुनै कम्पनीको सेयरको किताबी मूल्य १५० रुपैयाँ छ भने बजार मूल्य ७५० रुपैयाँ हुदासम्म खरिद गर्दा जोखिम कम हुन्छ भन्ने मान्यता छ ।

2.31 NPL – Non Performing Loan

तिन महिना भन्दा बढी भाखा नाघेका कुल ऋणलाई Non performing loan-  NPL अर्थात निस्क्रिय कर्जा भनिन्छ। यसलाई तिन भागमा बाडिएको छ ।

  1. i) Sub-standard (कमसल)   ii) Doubtful (शंकास्पद)   iii) Loss (खराब)

 

2.32 Premium

धितोपत्र निष्काशन गरिने मूल्य र अंकित मूल्य विचको फरकलाई Premium भनिन्छ । धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्काशन गरिएको अवस्थालाई Premium मा धितोपत्र निष्काशन गरिएको भनिन्छ ।

2.33 Mutual Fund

विभिन्न व्यक्ति वा संस्थाहरुको सहभागीता रहने गरी परिचालन गरिएको लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएका प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरुलाई समानुपातिक रुपले वितरण गर्न योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोषलाई Mutual Fund अर्थात सामूहिक लगानी योजना भनिन्छ।

 शेयर बजारमा अनविज्ञ लगानीकर्ताले म्युच्युअल फन्डमा लगानी गर्छन। यसलाई दोस्रो बजारमा कारोबार पनि गर्न सकिन्छ।  

2.34 NAV – Net Asset Value

म्युचुअल फन्डले लगानी गरेका धितोपत्रको कुल बजार मुल्यबाट तिर्नुपर्ने दायित्व घटाएपछि आउने रकमलाई Net Asset Value – NAV अर्थात खुद सम्पतिको मुल्य भनिन्छ।  यसरी  आउने खुद सम्पति मूल्यलाई कुल युनिट संख्याले भाग गरेर प्रतियुनिट खुद सम्पति मूल्य (NAV per unit ) निकालिन्छ।  

खुद सम्पति मूल्य = सम्पतिको कुल मूल्य (Total value of assets) – दायित्व (Liabilities)

प्रति युनिट सम्पति मुल्य = खुद सम्पति मूल्य (NAV) / कुल युनिट संख्या (Total number of units)

हामिले म्युच्युअल फन्डमा लगानी गर्दा NAV नै हेरिन्छ।  यो जति धेरै भयो त्यति राम्रो मानिन्छ। 

2.35 Zero Investment

आफुले किनेको शेयरमा केहि शेयर बिक्रि गरि लगानी बराबरको रकम उठाउने र बाँकी शेयर होल्ड गर्नुलाई शुन्यल गानी अर्थात जेरो इन्भेस्टमेन्ट भनिन्छ। लगानीलाई शुन्य बनाउँदा सुरुको लगानी फिर्ता भैसकेको हुन्छ र बाँकी शेयर नाफाको शेयर हुन्छ। 

2.36 Dividend Yield

कम्पनीबाट प्राप्त लाभांशलाई तत्कालको बजार मूल्यले भाग गर्दा आउने परिणामलाई Dividend Yield अर्थात लाभांश प्रतिफल भनिन्छ। बजारमूल्य बढ्दै जाँदा लाभांश प्रतिफल घट्दै जान्छ र यसले बजार उच्चमुल्यतर्फ गएको संकेत गर्दछ। 

यसको फर्मुला  

लाभांश प्रतिफल – अनुमानित प्रतिशेयर लाभांश / तत्कालको प्रतिशेयर बजार। मूल्य 

2.37 Interest Yield

बार्षिक रुपमा प्राप्त हुने ब्याजलाई ऋणपत्रको तत्काल को बजार मूल्यले भाग गर्दा आउने परिणाम नै ब्याज प्रतिफल हो। यो डिभेञ्चर अर्थात ऋणपत्रको ब्याज प्रतिफल निकाल्न प्रयोग गरिन्छ।  

ब्याजप्रतिफल= प्राप्त हुने बार्षिक ब्याज/ ऋणपत्रको तत्कालको बजार मुल्य

2.38 Active Stock

दोस्रो बजारमा नियमित रुपमा बढी कारोबार हुने शेयरलाई Active Stock अर्थात सक्रिय भनिन्छ।  नाफामुलक तथा उच्च प्रतिफल दिने कम्पनीको शेयर सक्रिय रुपमा किन बेच हुने गर्दछ।  यस्ता शेयरको तरलता बढी हुने गर्दछ। 

2.39 Inflation

सामान्य अर्थमा मुद्रास्फिर्ती भन्नाले वस्तुको मुल्य बढ्नु र पैसाको मूल्य घट्नुलाई जनाउँदछ।  १० प्रतिशत मुद्रास्फिर्ती भनेको एक वर्षअघि १०० रुपैयाँ पर्ने वस्तुलाई एक वर्षपछि ११० रुपैयाँ पर्नु हो। विशेषगरि दैनिक उपभोग्य वस्तुको मुल्यको आधारमा केन्द्रिय बैंकले गणना गर्ने मुद्रास्फिर्तीले समग्र देशको औसत मूल्यबृद्दिलाई जनाउँदछ। 

2.40 Derivative Market

अन्य धितोपत्रको मूल्यको आधारमा मुल्य निर्धारण हुले धितोपत्रलाई डेरिभेटिभ भनिन्छ।  यस्ता धितोपत्रमा राइट, अप्सन, वारेन्ट, फ्युचर कनट्र्याक्ट, फरवार्ड कनट्र्याक्ट आदि पर्दछन। 

कमोडिटिज र वित्तीय गरि दुई प्रकारका डेरिभेटिभ हुन्छन।  नेपालको बजारमा वित्तीय कारोबार नभए पनि कमोडिटिज डेरिभेटिभको भने कारोबार हुने गरेको छ। 

2.41 Auction

कम्पनीले पुँजी वृद्धि गर्न (Right Share) हकप्रद शेयर जारी गर्दा विद्यमान शेयरधनिहरुलाई लाई तोकिएको अनुपातमा शेयर खरीद गर्ने अधिकार दीएको हुन्छ। तर कतिपय शेयरधनीले सो शेयर खरिद गर्दैनन । यसरी हकप्रद जारी गरेर सम्बन्धित शेयरधनीले खरीद नगरेको अवितरित हकप्रद शेयर वा अन्य शेयर पुनः बिक्रीका लागि सम्बन्धित संस्थाहरुले बोलकबोलमार्फत बिक्री गर्ने शेयरलाई अक्सन शेयर भनिन्छ ।  

2.42 Market Capitalization

नेप्सेमा सुचिकृत कम्पनीको कारोबार भएको दिनको शेयरको मुल्यले कुल शेयरको संख्यालाई गुणन गर्दा आउने रकमलाई Market Capitalization अर्थात बजार पुँजीकारण भनिन्छ।  सम्पूर्ण कम्पनीहरुको धितोपत्रको बजारमुल्यको कुल जोडलाई Total Market Capitalization अर्थात कुल बजार पुँजीकरण भनिन्छ।  यसरी कुल बजार पुँजीकरण कै आधारमा नेप्से परिसूचक तलमाथि हुने गर्दछ।  

 

नेप्से परिसूचक के हो र कसरि हिसाब हुन्छ भनेर मैले पहिले नै भिडियो बनाइसकेको छु कृपया माथि आइ बटन वा तल Description मा गएर हेर्नुहोला। 

 

2.43 Money market

कम्पनी तथा सरकारले छोटो समयका लागि जारी गरेका धितोपत्र तथा पुँजीको कारोबार हुने बजारलाई Money market वा मुद्रा बजार भनिन्छ। छोटो समयको लागि भन्नाले बढीमा एक वर्षको समय लाई जनाउँदछ।  उदाहरणको लागि जस्तै सरकारको तर्फबाट रास्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिल  एक मुद्रा बजारको उदाहरण हो। 

2.44 Capital Market

लामो समयावधि भएको पुँजी अर्थात वित्तीय औजारको कारोबार हुने बजारलाई Capital Market अर्थात पुँजी बजार भनिन्छ। यहाँ लामो समयावधि भन्नाले एक वर्षभन्दा बढी समयलाई जनाउँदछ।  जारी गरेर पुँजी संकलन गर्नु पुँजी बजार अन्तर्गत पर्दछ। पुँजी बजारलाई प्राथमिक बजार र दोस्रो बजारमा विभाजन गरिएको हुन्छ। नेपालमा पुँजी बजारको नियमन तथा अनुगमन धितोपत्र बोर्डले गर्दछ। 

2.45 Speculation

Speculation लाई नेपालीमा सट्टेबाजि भनिन्छ। कम मूल्यमा किन्ने र मूल्य बढेपछि बिक्रि गर्ने उदेश्यले गरिने कारोबारलाई सट्टेबाजी भनिन्छ। यस्ता लगानीकर्तालाई पनि ट्रेडर पनि भनिन्छ।  कुनै घटना बिशेष घटना (जस्तै राजनीतिक परिवर्तन, आर्थिक परिवर्तन, द्वन्द, महामारी ) जसका कारण शेयर मूल्य बढ्छ वा घट्छ भन्ने अनुमानका आधारमा किनेबेच गरिन्छ भने त्यसलाई सट्टेबाजी  भनिन्छ ।

2.46 Regular Lot

शेयर किनबेच गर्दा कुल अंकित मूल्यमा कम्तिमा १००० रुपैयाँ पुग्ने गरि अर्डर दिनु पर्छ। यसलाई रेगुलर लट भनिन्छ। जस्तै उदाहरणको लागि १० रुपैयाँ अंकित मूल्य भएको शेयर छ भने कम्तिमा १०० कित्ता अर्डर दिनु पर्छ र १०० रुपैयाँ अंकित मूल्यको शेयर छ भने कम्तिमा १० कित्ताको अर्डर दिनु पर्दछ। 

2.47 Odd Lot

अंकित मुल्य कम्तिमा १००० नपुग्ने गरि दिएको अर्डरलाई अड लट भनिन्छ।  जस्तै १० रुपियाँ अंकित मूल्य भएको १ देखि ९९ कित्ता र १०० रुपैयाँ अंकित मूल्य भएको १ देखि ९ कित्तासम्मको अर्डरलाई अड लट कारोबार एकाई भनिन्छ। 

2.48 Market Depth 

बजार खुलेको बेला कुनै पनि कम्पनीको शेयर किन्ने र बेच्नेको संख्या कति छन भनेर हेर्न मिल्ने सिस्टम बी मार्केट डेप्थ हो। मार्केट डेप्थबाट हामीले कम्पनीको मूल्य सहितको बाइ अर्डर र सेल अर्डर हेर्न सकिन्छ। मार्केट डेप्थ कै आधारमा हामी किन्ने र बेच्ने बेला मूल्यको निर्धारण गर्छौं। 

2.49 Floor Sheet

कुनै पनि कम्पनीको शेयर कुन ब्रोकरले कति कित्ता शेयर कति मूल्यमा कुन ब्रोकरलाई बेच्यो भनेर हेर्न मिल्ने सिस्टम नै फ्लोर सिट हो। 

2.50 Prospectus

धितोपत्र सार्वजनिक रुपमा निष्काशन गर्नुअघि निष्काशित धितोपत्र र सो कम्पनीबारे विस्तृत विवरणसहित प्रकाशन गरिने पत्रलाई Prospectus अथवा विवरण पत्र भनिन्छ। यसले लगानीकर्तालाई सम्बन्धित कम्पनीको शेयरमा लगानी गर्ने वा नगर्नेबारे निर्णय गर्न मदत गर्दछ।   

 

Facebook Comments Box