शेयर बजारमा बुझ्नु पर्ने ५० वटा आधारभूत कुराहरु

50 Stock Market Terms copy

1.1 Bull/Bullish & Bear/Bearish

शेयर बजारको मूल्य घट्यो भने बियर मार्केट वा बियारिश मार्केट भनिन्छ र बढ्यो भने बुल मार्केट अथवा बुलिश मार्केट भनिन्छ।  यसरि शेयरको मूल्य घट्ने र बढ्ने भएकोले शेयर बजारलाई बुल अर्थात साढे र बियर अर्थात भालुले जनाउने गरिन्छ। 

1.2 Nepse (Nepal Stock Exchange)

नेप्से नेपालको एक मात्र स्टक एक्सचेन्जको दोस्रो बजार हो। स्टक एक्सचेन्जको मुख्य उद्देश्य सूचीकृत धितोपत्रहरुको कारोबार गर्ने गराउने हुन्छ ।

1.3 SEBON – Securities Board of Nepal

लगानीकर्ताको हकहित संरक्षण गर्न र समग्र पुँजी बजारको विकास गर्नको निम्ति २०५० साल जेठ २५ गते धितोपत्र बोर्ड नेपालको स्थापना भएको हो। धितोपत्र बोर्ड शेयर बजारको प्रमुख नियमन निकायको रुपमा रहेको छ ।

1.4 CDSC – Central Depository System & Clearing

CDSC अर्थात केन्द्रिय निक्षेप प्रणालि शेयरहरुको बैंक हो। हरेक लगानीकर्ताको शेयरलाई केन्द्रिय निक्षेप प्रणालि नै उनीहरुको डिम्याट खाता मार्फत व्यवस्थापन गर्छ। 

1.5 Stock Broker or Broker

Stock Broker अर्थात दलाल भनेको लगानीकर्ताको आदेश अनुसार धितोपत्रको खरिद र बिक्रि गर्नको लागि धितोपत्र बोर्डबाट इजाजत प्राप्त संस्था हो। 

1.6 DEMAT Account

शेयर जम्मा गर्ने खाता नै डिम्याट खाता हो। जसरि पैसा को कारोबार गर्न बैंक खाता चाहिन्छ त्यस्तै शेयरको कारोबार गर्न डिम्याट खाता चाहिन्छ। डिम्याट खाता बैंक तथा वित्तीय संस्था, तथा ब्रोकर ओफ़िसमा गएर खोल्न सकिन्छ। 

1.7 DEMAT & REMAT

भौतिक शेयर प्रमाणपत्रलाई विध्युत्तीय माध्याममा राख्ने प्रक्रियालाई Dematerialization भनिन्छ भने विध्युत्तीय शेयरलाई अभौतिकिकरण गर्ने प्रक्रियालाई Rematerialization भनिन्छ। 

1.8 CRN – C-ASBA Registration Number

डिम्याट खाता र बैंक खातालाई लिंक गर्ने Unique Number नै  CRN अर्थात C-ASBA Registration Number हो।  यो सम्बन्धित बैंकमा गएर लिनु पर्दछ। 

1.9 IPO – Initial Public Offerings

कुनै पनि कम्पनिले प्रथम पटक शेयर जारी गरेर पैसा संकलन गर्छ भने त्यसलाई Initial Public Offering अर्थात प्राथमिक निष्काशन भनिन्छ। नेपालमा हाल साधारणतय १०० रुपैयाँ प्रति कित्ताको दरले प्राथमिक शेयर जारी गरिन्छ। 

1.10 FPO – Follow on Public Offering

पहिले नै IPO जारि गरेर दोस्रो बजारमा समेत कारोबार भैरहेको कम्पनीले फेरी पैसा चाहिएमा दोस्रो पटक सर्वसाधारणलाई शेयर जारि गर्छ भने त्यसलाई Follow on Public Offer भनिन्छ।  

1.11 Primary Market

कम्पनी तथा सरकारले पहिलो पटक जारी गरेको धितोपत्रको कारोबार हुने बजारलाई Primary Market अर्थात  प्राथमिक बजार  भनिन्छ। IPO लाई प्राथमिक बजारमा किन्ने गरिन्छ। 

1.12 Secondary Market

प्राथमिक बजारमा जारि गरि बेचिएको शेयर ब्रोकरमार्फत लगानीकर्ताहरुबीच किनबेच हुने बजारलाई Secondary Market अर्थात दोस्रो बजार भनिन्छ। 

1.13 Allotment

प्राथामिक बजारमा शेयर (IPO, FPO, Right Share) जारि गरेसकेपछि प्रत्येक आवेदकलाई शेयर बाँडफाँड गर्ने प्रक्रिया नै Allotment हो। 

1.14 Bond /Debenture

कम्पनी तथा सरकारले आवश्यक पैसा बार्षिक, अर्धबार्षिक वा त्रैमासिक रुपमा निश्चित ब्याज प्रदान गर्ने र निश्चित समय पश्चात सावाँ र ब्याज फिर्ता गर्ने गरि सर्वसाधारणबाट ऋणको रुपमा संकलन गर्दछ। यसलाई ऋणपत्र अर्थात Bond/debenture भनिन्छ। कम्पनीले जारि गरेको ऋणपत्रलाई Corporate Bond भनिन्छ भने सरकारले जारि गरेको ऋणपत्रलाई Government Bond भनिन्छ। 

1.15 Dividend (Stock/Cash)

एक आर्थिक वर्षभित्र कम्पनीले कमाएको मुनाफाको निश्चित अंश आफ्ना शेयर धनिहरुलाई बाँड्छ ।  यसलाई Dividend अर्थात लाभांश भनिन्छ । यदि कम्पनिले लाभांशको रुपमा शेयर नै बाँड्छ भने त्यसलाई Stock Dividend अर्थात बोनस शेयर भनिन्छ भने लाभंशको रुपमा नगद बाँड्छ भने त्यसलाई Cash Dividend अर्थात नगद लाभांश भनिन्छ। 

1.16 ASBA – CASBA – Centralized Application Supported by Blocked Amount 

प्राथमिक बजारमा IPO, FPO, Right Share मा आवेदन दिने क्रममा आवेदकको पैसा शेयर बाडफाड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का गर्ने सिस्टम नै C-ASBA अर्थात Centralized Application Supported by Block Amount हो। 

1.17 TMS – Trade Management System 

अनलाईनबाट Share किनबेच गर्न मिल्ने गरि बनाइएको सिस्टम नै TMS अर्थात Trade Management System  हो। TMS खाता बनाइसकेपछि शेयर किनबेचको लागि ब्रोकरलाई फोन गर्न वा ब्रोकर अफिस धाईरहनु पर्दैन। 

1.18 Mero Share (App/Website)

आइपिओ किन्न, डिम्याट खातामा रहेको शेयर किन्ने व्यक्तिलाई ट्रान्सफर अर्थात (EDIS) गर्नको लागि केन्द्रिय निक्षेप प्रणालि (CDS & Clearning) ले बनाइदिएको सिस्टम नै Mero Share हो।  यो मोबाइल एप तथा वेबसाइटबाट चलाउन सकिन्छ। 

1.19 Opening Price Range

कम्पनीले जारि गरेको आइ पी ओ नेप्सेमा सुचिकृत भएपछि पहिलो कारोबारका लागि नेप्सेले तोक्ने मूल्यको रेञ्ज नै Opening Price Range हो। तर शेयरको Opening Price भनेको कारोबार गरेको दिनको पहिलो कारोबार मूल्य  हो। 

1.20 KYC – Know Your Customer 

बैंक तथा वित्तीय संस्थाहरुमा आफ्नो ग्राहाकको सम्पूर्ण विवरण लिने प्रक्रियालाई KYC – know your customer भनिन्छ।

1.21 Collateral

शेयर खरिद गर्नु भन्द अगाडि शेयर किन्ने व्यक्तिले सुरक्षाको लागि निश्चित रकम ब्रोकरको खातामा जम्मा गर्नु पर्ने हुन्छ त्यो रकमलाई Collateral भनिन्छ। 

1.22 Merchant Banker or Issue Manager

धितोपत्रको निष्काशन, व्यवस्थापन, धितोपत्रको प्रत्याभूति सम्बन्धि सल्लाह सुझाव दिने संस्थालाई मर्चेण्ट बैंकर वा भनिन्छ। कम्पनीले कुनै पनि प्रकारको धितोपत्र निष्काशन गर्दा धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेण्ट बैंकमार्फत मात्र जारी गर्न पाउँछ। 

1.23 Nepse Index 

नेप्सेमा सुचिकृत सम्पूर्ण कम्पनीहरुको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्य बीचको अनुपात नै नेप्से परिसूचक अर्थात नेप्से इन्डेक्स हो । सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्ने र मूल्य घटेमा परिसूचक पनि घट्ने गर्दछ । 

1.24 Sensitive Index

क बर्गका कम्पनीहरुलाई मात्र समावेश गरेर गणना गरिएको परिसूचक Sensitive Index अर्थात  सेन्सेटिभ परिसूचक हो ।

1.25 Float Index

सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका शेयरहरुलाई मात्रै समावेश गरेर गणना गरिएको परिसूचक Float Index अर्थात फ्लोट परिसूचक हो ।

1.26 Pre-Open Session

नियमित कारोबार समय अर्थात आइतबार देखि बिहिबारसम्म बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म बजार खुल्ला रहन्छ ।तर यो बाहेक बिहान १०ः३० देखि १०ः४५ भित्र पनि हिजको मुल्यमा ५% तल माथि राखेर  Order Place  गर्न सक्छौं। यसलाई Pre-Open Session भनिन्छ। 

1.27 Special Pre-Open Session

कम्पनीले आइपिओ जारी गरेर नेप्सेमा सुचिकृत भैसकेपछि पहिलो पल्टको कारोबार गर्नको लागि बनाइएको सिस्टम नै Special Pre-Open Session हो। यसमा नेप्सेले तोकेको मूल्य सिमा भित्र रहेर बिहान १०ः३० देखि १०ः४५ बजे भित्र अर्डर दिन मिल्छ। Special Pre-Open Session मा कारोबार भैसके पछिमात्र सो कम्पनीको कारोबार Continuous Session मा हुन थाल्छ। 

1.28 T+2 

कारोबार गरेको दिन बाहेक अर्को दुई कारोबार दिन भित्र किनेको वा बेचेको शेयरको राफसाफ (Settlement) गर्न भनेर बनाइएको नियम नै T+2 हो। यस्को अर्थ (Trading Day + Extra 2 Days) हो ।

1.29 LTP & LTV – Latest Transaction Price & Latest Transaction Volume 

LTP भनेको पछिल्लो समयमा कारोबार भएको कुल शेयरको मूल्य हो भने LTV भनेको पछिल्लो समयमा भएको शेयरको कारोबार संख्या हो। 

1.30 Turnover

कुनै निश्चित समय भित्र भएको शेयर कारोबारको कुल मूल्य नै Turnover हो। 

1.31 Portfolio / Portfolio Diversification

लगानीकर्ताको कुल शेयरको समग्र रुप नै Portfolio हो।  कुनै एउटा क्षेत्रमा मात्र लगानी नगरी जोखिम कम गर्नको लागि  विभिन्न क्षेत्रमा लगानी गर्नुलाई Portfolio Diversification भनिन्छ।

1.32 Ordinary Share/Common Share

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरधनीहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरि जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ। 

1.33 Promoter Share

कम्पनी स्थापना गर्ने व्यक्ति वा संस्थाले खरिद गरेको शेयर वा लगाएको पुँजीलाई संस्थापक शेयर वा Promotor Share भनिन्छ। 

1.34 Lock in Period

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनिको संस्थापक शेयरधनीले ५ बर्षसम्म र अरु कम्पनीले ३ वर्षसम्म उक्त शेयर बेच्न पाउदैनन। साथै कम्पनीले कर्मचारीहरुको लागि छुट्याएको शेयर पनि ३ बर्षसम्म बेच्न पाउदैनन। यस्ता शेयरहरु बेच्न नपाउने समयलाई  Lock in Period भनिन्छ।  

1.35 DIS/EDIS – Debit Instruction Slip/ Electronic Debit Instruction Slip 

शेयर बिक्रि गरिसकेपछि किन्ने व्यक्तिको डिम्याट मा शेयर ट्रान्सफर गर्ने प्रक्रियालाई DIS -Debit Instrauctio Slip भनिन्छ।  पहिले Cheque मा details भरेर बुझाउनु पर्थ्यो भने अहिले मेरो शेयर एप बाट EDIS गर्न सकिन्छ। 

1.36 BOID ( Beneficiary Owner Identification)

८ अंकको निक्षेप सदस्य आइडि र ८ अंकको क्लाइनट आइडि मिलेर १६ अंकको हिताग्राही खाता नम्बर नै BOID हो। यसलाई डिम्याट खाता नम्बर पनि भनिन्छ . यो BOID को आधारमा नै सबै लगानीकर्ताहरुको शेयर व्यवस्थापन गरिएको हुन्छ।  

1.37 DP (Depository Participant)

निक्षेप सदस्य वा DP -Depository Participant  भनेको धितोपत्र बोर्डबाट दर्ता प्रमाणपत्र लिई CDSC संग सदस्यता लिएका धितोपत्र व्यवसायी वा संगठित संस्था हुन। 

1.38 Authorized Capital 

Authorized Capital अर्थात अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ ।

1.39 Issued Capital 

Issued Capital अर्थात जारी पुँजी भन्नाले कम्पनीले सेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजीलाई बुझिन्छ । सेयरधनीहरुले सोही अनुरुप पुँजी जम्मा गर्ने प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।

1.40 Paid Up Capital 

Paid Up Capital अर्थात चुक्ता पुँजी भन्नाले कम्पनीद्वारा जारी गरिएको, सेयरधनीहरुले कबोल गरेको पुँजी मध्ये सम्बन्धित सेयरधनीहरुबाट चुक्ता गरिएको कुल पुँजी भन्ने बुझिन्छ । उदाहरणको लागि एक सय रुपैयाँ प्रति सेयरका दरले जारी गरिएको सेयरमा सेयरधनीहरुबाट प्रति सेययर ५० रुपैयाँ मात्र तिरेको भएमा ५० रुपैयाँ प्रति सेयर चुक्ता मूल्य हुन्छ 

1.41 Capital Gain Tax

शेयर कारोबारमा भएको नाफाबाट सरकारलाई तिर्नु पर्ने कर नै Capital Gain Tax हो।  आ. व. २०७८/७९ को बजेट भाषणले अल्पकालिन र दिर्घकालिन लगानीकर्तालाई छुट्टाछुट्टै पुँजीगत आयलाभ करको व्यवस्था गरेको छ। २०७८ साल साउन १ गते देखि लागु हुने गरि अल्पकालीन लगानीकर्ता (१ वर्ष भन्दा कम समय होल्ड गर्ने) लाई ७.५ % र दिर्घकालिन लगानीकर्ता (१ वर्ष भन्दा बढी समय होल्ड गर्ने) लाई ५ % पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ।   

 

1.42 Circuit Breaker

स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भनिन्छ  । बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो ।

1.43 Investment & Trading 

कम्पनीको आधारभूत पक्षलाई हेरेर लामो समयको लागि गरिएको लगानीलाई Investment भनिन्छ भने Trading मा प्राविधिक पक्ष हेरेर छोटो समयमा नाफा कमाउने उदेश्य राखिन्छ। 

1.44 Right Share

सर्वसाधारणमा शेयर निष्काशन गरिसकेको कम्पनीले फेरी पुँजी बढाउन फेरी विद्यामान शेयरधनीको पहिलो हक हुने गरि निश्चित अनुपातमा जारि गरेको शेयरलाई Right Share अर्थात् हकप्रद शेयर भनिन्छ। हकप्रद शेयर किन्ने वा नकिन्ने निर्णय गर्न विद्यामान शेयरधनी स्वतन्त्र हुन्छन । 

1.45 Preference Share

कम्पनीले आर्जन गरेको नाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरि जारी गरिएको शेयरलाई अग्राधिकार शेयर वा Preference Share भनिन्छ। यस्ता शेयरधनीलाई वितरण गरिने लाभांश साधारण शेयरधनिको भन्दा अगाडि हुने भएकोले यसलाई अग्राधिकार शेयर भनिएको हो। 

1.46 Stock Split

भएको शेयरलाई टुक्र्याएर शेयर संख्या बढाउने प्रक्रियालाई Stock Split अर्थात शेयर खण्डिकरण भनिन्छ। Stock Split गर्दा शेयर संख्या बढ्छ भने मूल्य घट्छ। 

1.47 Blue Chip Share 

लामो समयदेखि नाफा कमाउँदै आएको तथा लगानीकर्ताहरुलाई उच्च प्रतिफल (लाभांश) प्रदान गर्दै आएको कम्पनीको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनी लगानीकर्ताप्रति अन्य कम्पनीहरू भन्दा तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् ।

1.48 Face Value

फेस भ्यालु भनेको प्रतिकित्ता सेयरको मूल्य हो जुन सेयर जारी गर्नु अघि नै निर्धारण गरिन्छ । नेपालमा यो सामान्यतयः शेयरको प्रतिकित्ता अंकित मूल्य  १०० रुपैयाँ, सामुहिक लगानी कोषको १० रुपैयाँ, र ऋणपत्र (डिबेञ्चर) को १० रुपियाँ प्रतिकित्ता अंकित मूल्य हुने गरेको छ ।  

1.49 Fundamental Analysis

कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अध्ययन विश्लेषण गरेर कम्पनीको प्रतिस्पर्धात्मक लाभ, रणनीति र बजारमा कस्तो किसिमको वातावरण निर्माण गरेको छ भनेर  विश्लेषण गर्ने तरिकालाई  Fundamental Analysis अर्थात आधारभूत विश्लेषण भनिन्छ ।

1.50 Technical Analysis

विभिन्न टेक्निकल Tools हरूको प्रयोगको माध्यमबाट हिजोको बजारमा रहेको माग र  आपूर्तिको  आधारमा आज र आजको  बजारमा रहेको माग र आपूर्तिको  आधारमा भोलिको  बजारको स्थिति  वा कुनै कम्पनी विशेषको विश्लेषण गर्ने तरिकालाई Technical Analysis अर्थात  प्राविधिक विश्लेषण भनिन्छ ।

 

Facebook Comments Box